सेयर बजारमा यस कारण सुस्ताए लगानीकर्ता, आईपीओ समेत नबिक्ने पहिलेकै अवस्था दोहोरिएला ?
देशको खबर
April 3, 2022

नेपालको पूँजी बजारमा कारोबार रकम झण्डै १९ गुणाले घटेको छ । केही महिना अघि दैनिक २१ अर्बसम्मको कारोबार हुने गरेको तुलनामा चैत्र २० गते झण्डै १९ गुणाले कारोबार रकम कम भई एक अर्ब ४६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको हो ।

सरकारले सेयर बजारलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेपछि चलाख लगानीकर्ताहरुले बजारमा लगानी झिक्नुका साथै नयाँ लगानीकर्ताको प्रबेश ठप्प भएपछि कारोबार रकम घटेको हो । बजारमा कारोबार रकम घटेपछि सरकारले पाउने पूँजीगत लाभकर र ब्रोकरले पाउने कमिशनमा समेत उल्लेखनीय ह्रास आएको बताईन्छ । कतिपय ब्रोकरहरुले अहिले दैनिक संचालन खर्च समेत उठाउँन सकेका छैनन् ।

बजारमा कारोबार आएका एक सय ९५ कम्पनी मध्ये एक सय ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १९ वटाको मात्र मूल्य बढेको छ । समग्र बजार पूँजीकरण ३५ खर्ब ६८ अर्बमा सिमित बन्दा बजारमा झण्डै १० खर्ब रुपैयाँले पूँजीकरणमा ह्रास आईसकेको छ ।

पूँजी बजारमा सही र आबश्यक नीति नियम, प्रबिधि र पुर्वाधारको बन्दोबस्ती गरी नयाँ उपकरणहरु ल्याएर लगानीकर्ताहरुलाई आकर्षित गर्नुको बदला भगाउने रणनीति अख्तियार गरिएपछि नकारात्मक माहौल सिर्जना भएको छ । केही समय अघि बजारमा ओईरिएका लाखौं संख्याका लगानीकर्ताहरु निराश बनेर बाहिरिने क्रमले बजारलाई लामो समयसम्म प्रताडित बनाउने खतरा बढेको छ । यसैबीच केही ठूला लगानीकर्ता र ब्रोकरहरुले खेलेको अस्वस्थ खेलले समेत बजारमा जोखिमको अबस्था थामिनसक्नु गरी बढाएकाले थुप्रै सर्बसाधारण लगानीकर्ताहरु चेपुवामा परेका थिए ।

केही दिन यता अपवाद बाहेक लगातार सेयरको मूल्य घट्दै गएकोमा चैत्र मसान्तको प्रभावले समेत बजार तरंगित भएको छ । यससंगै नेपालको अर्थतन्त्रमा देखिएको समस्या, तरलता संकट, बैंक ब्याज दर र सेयर धितो कर्जाको भारित औसतमा भएको परिवर्तन लगायतको प्रभावले पनि लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ तर त्यसबाट पूँजी बजार प्रभावित नहोस भन्नेतर्फ कदम चाल्न सरकारी संयन्त्र पटक्कै तयार नभएको बताइृन्छ । सरकारी अधिकारीहरु नेप्से सूचक हेर्दै तीन बष्र्ष भन्दा अगाडिको भन्दा माथि नै रहेको दावी गर्दै बसिरहेका छन्, वास्तविक अबस्था ठीक उल्टो छ । नेप्से सूचक आईतबार ३०।८९ अंकले घटेर २५१३ विन्दुमा झरेको छ र यसमा नयाँ कम्पनीको आईपीओ र पुरानाका बोनस तथा हकप्रद समेत थपिएको हिसाब गर्ने हो भने तीन बर्ष अगाडिको नेप्सेको वास्तविक अबस्थासँग तलुना गर्नै मिल्दैन ।

सेयर बजारको घटबढलाई स्वभाविक रुपमा लिईनुपर्छ तर बजारको जोखिमलाई कम गर्न सरकार तथा नियमनकारी निकायले समयानुकल कदमहरु चालेनन् भने लगानीकर्तामा छाउने निराशा घातक हुनजान्छ ।

बजारमा निराशाको अबस्था गहिरिदै गयो र नयाँ लगानीकर्ताहरु कहिल्यै नफर्किने गरी बजारबाट भागे भने नेपालको पूँजी बजारले दुई बर्ष अगाडिसम्मको जस्तै लामो समयको विरक्तलाग्दो अबस्थाको सामना गर्नुपर्ने खतरा पनि रहन्छ । यस्तो अबस्थामा लिलामीमा आएका सेयर र नयाँ आईपीओ समेत नबिक्ने हुनसक्छ ।

बजारलाई यस्तो संकटबाट बचाउँन तत्काल ब्रोकरमार्फत मार्जिन ट्रेडिड., बाणिज्य बैंकका सहायक कम्पनी र ठूला संस्थागत ब्रोकरहरुलाई लाईसेन्स दिने, ब्रोकरहरुको वास्तविक पूँजी बृद्धि गरी पूर्ण ब्रोकरेज सेवाका लागि ढोका खोल्ने, प्रतिस्पर्धात्मक ब्रोकर कमिशन लागु गर्ने, नेप्सेको संरचनागत सुधार गर्ने, निजी स्टक एक्सचेन्जको स्थापना, दीर्घकालीन लगानीलाई तीन प्रतिशत मात्र र ३० दिनसम्मको अल्पकालीन लगानीलाई १५ प्रतिशत पूँजीगत लाभकर ब्यवस्था गर्ने, बजारमा हुने अवान्छिट कृयाकलापलाई कडाईका साथ नियन्त्रण गर्ने लगायतका सुधारहरु गर्नु अति आबश्यक हुन गएको छ ।