नेपालको विजुली किन्न भारत अब भने पूर्ण रुपमा तयार
April 3, 2022

नेपालमा उत्पादित विजुली किन्न बहानाबाजी गर्दै आएको भारत अब भने पूर्ण रुपमा तयार भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा खुशी ब्यक्त गर्दै नेपालमा बढी भएको बिजुली आफूले खरिद गर्ने घोषणा गरेको हो । मोदी र देउवाबीच भएको औपचारिक वार्तापछि ‘भारतले नेपालको बिजुली खरिद गर्ने बताउनु भएको हो ।

नेपाल र भारतबीचको संयुक्त विज्ञप्ति अन्तर्गत संयुक्त भिजन स्टेटमेन्ट’ मा भारतले नेपालको बिजुली खरिद गर्ने उल्लेख गरिएको छ । भारत र नेपालका उर्जा मन्त्रीहरुबीचमा पनि विद्युत खरिदबारे कुराकानी भएको छ ।

भारतले आफ्नो लगानीमा बनेका आयोजनाका विजुली मात्र किन्ने बताउँदै आएकोमा अब भने अरुको लगानीमा बनेका आयोजनाका विजुलली पनि भारतले किन्ने भएको हो । भारतीय लगानीमा बनेका त्रिशुली र देवीघाटका ३९ मेगावाट विजुली मात्र भारतले खरिद गर्दै आएकोमा अब माथिल्लो तामाकोसी ४५६ मेगावाट, भोटेकोसी ४५ मेगावाट लगायतका आयोजनाका विजली पनि भारतले किन्ने भएको छ । नेपालले ७ सय मेगावाटका आयोजनाको सूचीसहित भारतीय विद्युत मन्त्रालयलाई विद्युत खरिदका लागि प्रस्ताव गरेको थियो ।

संयुक्त भिजन स्टेटमेन्ट अनुसार अब बीबीआइएन अन्तर्गत भुटान, बंगलादेश, भारत र नेपालबीच उर्जा ब्यापार हुने भएको छ । नेपालले बंगलादेशसम्म आफ्नो बिजुली बिक्री गर्न पाउने ढोका खुलेको छ । नेपाल र बंंगलादेशबीच यस अघि नै विद्युत ब्यापारको समझदारी भईसकेको छ, भारतको स्पष्ट धारणा नआउँदा त्यो काम हुन सकेको थिएन ।